नेपालका मगरहरूको आफ्नै मातृभाषा रहेको छ । नेपालका आदिवासी जनजातिहरू मध्ये सबैभन्दा धेरै जनसंख्या भएका मगरहरूले बोल्ने मातृभाषालाई मगर भाषा भनिन्छ । मगरहरूले ३ प्रकारका मातृभाषा बोल्ने गर्दछन् ।
१– मगर ढुट
२– मगर खाम
३– काइके/पोइके
गरी तीन भाषा प्रचलित छन् । रिडी पारिका मगरहरू १२ मगरमा मगर ढुट भाषिक, रिडी वारिका मगरहरू १४ मगरमा मगर खाम भाषिक र डोल्पा क्षेत्रका तराली मगरहरू काइके/पोइके भाषिक हुन् । मगरहरूले बोल्ने ३ वटै भाषा भोट–बर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् । वि.सं. २०६८ को जनगणना अनुसार नेपालका मगर जातिको कुल जनसंख्याको ४५ प्रतिशतले मात्र मगर भाषा बोल्ने गर्दछन् । नेपालमा ११ वटै जिल्लामा मगर भाषा बोल्ने गर्दछन् ।
मगर संघ अमेरिकाले मगर भाषाको संरक्षण र सम्बर्धनका लागि अनलाइन मगर भाषा प्रशिक्षण दिइरहेको छ । यसबाट मगर भाषा सिक्न चाहने सयौँ मगर लाभान्वित भएका छन् । हरेक हप्ताको आइतबार र सोमबार दुई दिन मगर भाषाको प्रशिक्षण सञ्चालन भइरहेको छ ।
नेपालमा मगर भाषा बोल्ने जनसंख्या मध्ये झन्डै ७० प्रतिशतले मगर ढुट भाषा बोल्छन् । मगर ढुट बाह्र मगर क्षेत्र अन्तर्गत रिडी पारि पाल्पा, स्याङ्जा, तनहुँदेखि पूर्व नेपालका मगरहरूले बोल्ने गर्दछन् । मगर ढुट नेपालमा मात्र नभएर भारत, भुटान, बर्मा लगायत विश्वका अन्य देशका मगरहरूले पनि बोल्ने गर्दछन् ।
नेपालमा मगर भाषा बोल्ने जनसंख्या मध्ये झन्डै १९ प्रतिशतले मात्र मगर खाम भाषा बोल्छन् । १४ मगर क्षेत्र अन्तर्गत रिडी वारिका रुकुम, रोल्पा, बागलुङदेखि पश्चिमतिरका सबै मगरहरूले मगर खाम भाषा बोल्ने गर्दछन् ।
नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने मगर समुदायले मगर काइके/पोइके भाषा बोल्दछन् । यो भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको छ । मगर भाषिक कुल जनसंख्याको १.२१ प्रतिशत मगरहरूले मात्र यो भाषा बोल्दछन् ।

