अमेरिकामा “मगर साँस्कृतिक केन्द्र” भवनको आवश्यकता र महत्व
पृष्ठभूमि
नेपाल बहुजातीय, बहुभाषिक, बहु–सांस्कृतिक धनी देश हो । विश्व मानचित्रमा नेपाल भौगालिक रुपमा सानो भएपनि सांस्कृतिक रुपमा बिशाल रहेको छ । नेपाल भित्र फुलेको सुन्दर जातिय फुलहरु मध्ये मगर जाति नेपालका आदिवासी समुदायहरूमा सबैभन्दा बढी संख्या भएको आदिवासी हो भने मौलिक परम्परा, संस्कार र संस्कृतिको धनी जाति हो । नेपालका मगर समुदाय विश्वभर छरिएर रहेकाछन् । विश्वभर छरिएर रहेका मगरहरुको आधारभूत मौलिकताहरू एकै भएपनि भाषिक र सांस्कृतिक रुपमा बिबिधताको धनी छ ।
नेपालका मगरहरु विश्वको कुना–कुनामा फैलिदै, संगठित हुदैं मगर भाषा, मौलिक कला, संस्कार र संस्कृतिको सुवासिलो सुधन्ध फैलाउदै आएका छन् । “एक कोश पर पानी फेरिन्छ, दुई कोश पर बानी, अझै पर जाँदा भाषाभेष पनि फेरिन्छ” (श्रीष मगर, २०६७ः १४९) । यो भनाई हामी प्रवासी मगरहरूमा लागू हुन्छ। भूगोल र स्थानले भाषा, भेष र संस्कार संस्कृतिलाई प्रभाब पार्छ र ऐतिहासिक थातथलोका पहिचान गुम्दै जान्छ । प्रदेशी प्रभाब अनि जहाँ जुन संस्कार छ त्यो अवलम्बन गर्नु पर्ने बाध्यताले मगर भाषिक र साँस्कृतिक ऐतिहासिक कडीहरु समयको कालखण्डहरू पार गर्दैगर्दा लोपोन्मुख हुने अवस्थाबाट गुज्रनु परेको छ । यस्तो अवस्थामा मगर इतिहास, भाषा, भेष, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्धन गर्ने संगमस्थलको रूपमा “मगर सांस्कृतिक केन्द्र” निर्माण हुने कुरामा कुनै सन्देह छैन ।
यतिखेर हामी सम्पूर्ण अमेरिकाबासी मगरहरुको साझा सपना, एउटा बहुउपयोगी बृहत परियोजना “मगर साँस्कृतिक केन्द्र” भवन निर्माणको एक गुरूयोजना अगाडी सारेर समस्त मनकारी मनहरुको मनको ढोका डक्ढक्याउन आएका छौं । मगर जाति भाषा, संस्कार, संस्कृतिले धनी र बिबिधतामा एकता भएको जाति हो । बिबिधतामा एकता नै मगर जतिको सुन्दरता हो भने निश्वार्थ, सहयोगी भावना, कोमल हृदय मगर व्यक्तित्व परिचय हो ।
मगर साँस्कृतिक केन्द्रः मगर सपना र भावनाहरूको संगमस्थल
मातृभूमि नेपालबाट आएर अमेरिकालाई कर्मथलो बनाई बिभिन्न राज्यहरूमा बसोबास गर्दै आएका मगरहरुको संस्कार, संस्कृतिलाई संरक्षण र सम्बद्र्वन गर्ने, बिबिधता रहेको भाषा र साँस्कृतिक भावनाहरू र एकिकृत सपना जोड्न मगर साँस्कृतिक केन्द्रको स्थापना गर्ने परिकल्पना गरिएको छ । विश्वको वैभवशाली र शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकामा दशौँ हजार मगरहरुको बसोबस रहेको छ । यि समग्र मगरहरुको साझा घर, साझा आस्थाको केन्द्र हुनेछ– मगर साँस्कृतिक केन्द्र।
यिनै मगरहरुको भाषा, संस्कार, संस्कृति अनि इतिहास जीवित राख्ने, नयाँ पुस्ताको पाठशाला हुनेछ– मगर सांस्कृतिक केन्द्र !
मगर संघ अमेरिका केन्द्रीय समिति र यस मातहत हालसम्म ८ राज्य च्याप्टर समितिहरू छन् । अन्य राज्यहरूमा जहाँ जहाँ मगरहरुको बाहुल्य छ, त्यहाँका मगरहरुसंग समन्वय गरी संगठित गर्दै जाने संघको लक्ष छ । मगर संघ अमेरिकाको स्थापना सन् २००४ मा न्यू योर्कमा गरिएको थियो । मगर संघ अमेरिकाको परिकल्पना गर्नु हुने अग्रज मगरहरुप्रति उच्च सम्मान छ । स्थापना कालदेखि बिबिध कालखण्डहरु पार गर्दै मगर संघ अमेरिकालाई अग्रजहरुले दोर्र्याउदै यहाँसम्म पुर्र्याउनु भयो जसको फलस्वरूप बर्तमानमा मगर संघ अमेरिकाले “मगर सांस्कृतिक केन्द्र” स्थापना गर्न बृहत परियोजना अगाडी सार्न आँट लिन सकेको छ ।
मगर सांस्कृतिक केन्द्रः आवश्यकता, महत्व र पुस्तान्तरणको सवाल
अमेरिकामा मगरहरुको जनसंख्या तिब्र गतिमा बढिरहेको छ । कुनै पनि जातिको संख्यात्मक रुपले तिब्र गति लिन्छ, आवश्यकता र समस्या दुवै पनि तिब्र गतिमा बढ्दै जान्छ । आवश्यकता र समस्याले नै संस्थाका दायराहरु फराकिलो गर्दै जानु पर्ने दायित्व रहन्छ । सन् २००४ मा मगर संघको स्थापना एउटा कुनै एक व्यक्तिको घरमा बिभिन्न राज्यबाट आएका मगरहरु जम्मा भएर संस्थाको जन्म भयो र २०२५ सम्म आइपुग्दा संघले मगर साँस्कृतिक केन्द्रको आवश्यकता र महत्व महसुस गरेर बृहत परियोजना अगाडी सारेको छ ।अमेरिकामा मगरहरुको इतिहास हेर्दै जाँदा हाम्रो पहिलो पुस्ता नै बहुमत रुपमा पहिलो चरणमा संघर्ष गरिरहेको छ । संघर्षरत यो पहिलो पुस्ताको मौलिक मगर भाषा, संस्कार र संस्कृति र अबको अमेरिकी भाषा, संस्कार र संस्कृतिमा हुर्कने हाम्रो भावी सन्ततिलाई पुस्तान्तरण गर्नु नै मगर सांस्कृतिक केन्द्रको धेय रहने छ।
मगर संघ अमेरिकाको केन्द्रिय कार्यलय बिगत केहि वर्षदेखि न्यू योर्कमा स्थापना गरी संस्थागत गतिबिधि संचालन गर्दै आएको सर्वाबित नै छ । मगर संघ अमेरिकालाई समुदाय माझ स्थापित गर्न, सामुदायिक मनहरु जोडन कार्यलयको ठुलो भूमिका रहेको छ । “मगर सांस्कृतिक केन्द्र”ले अमेरिकामा रहेका दशौँ हजार मगरहरुको भावनाहरु र एकिकृत सपना जोड्न अहम् भूमिका खेल्नेछ । लामो समयदेखि संघको कार्यालय स्थापना भएदेखि घरभाडा र व्यावस्थापनमा लाखौं डलर खर्च भैरहेको र यो खर्चलाई जोगाउन पनि अब एकपटक सम्पूर्ण अमेरिकाबासी मगरहरु जुर्मुराउनु पर्ने भएको छ । लौ, अब इतिहासको पानामा सुनौलो अक्षरमा नाम दर्ज गरेर भावी सन्तति माझ हाम्रो पहिलो पुस्ता उदाहरणीय अभिभावक बन्ने सुनौलो मौका आएको छ ।
मगर सांस्कृतिक केन्द्र कहाँ बन्दैछ? कस्तो संरचना समेटिनेछ?
मगर संघ अमेरिकाले विश्वको राजधानी मानिने, संयुक्त राष्ट्र संघको मुख्यालय रहेको न्यू योर्क राज्यको न्यू योर्क सहरभित्रकै कुइन्स काउन्टी भित्र “मगर सांस्कृतिक केन्द्र” स्थापना गर्ने योजना बनाएको छ । मगर सांस्कृतिक केन्द्र भवन भित्र निम्नानुसारको संरचना रहनेछः
–मगर संघ अमेरिका केन्द्रीय कार्यलय, न्यू योर्क लगायत अन्य राज्य च्याप्टर सम्पर्क कार्यालय
–मगर संग्रहालय
–मगर पुस्तकालय
–मगर भाषा, मगर संस्कार, संस्कृतिको अध्ययन केन्द्र
यसरी मगर साँस्कृतिक केन्द्रको परियोजना अगाडी सारिएको छ । मगर साँस्कृतिक केन्द्र स्थापनासंगै अमेरिकामा बसोबास गर्ने विश्वका हरेक मगरहरुलाई जोड्ने कोसिस गरिनेछ चाहे त्यो मगर भुटानको होस्, चाहे बर्मा, मलेशियाको होस् या भारतको । जातिको हिसाबले हामी सबै मगर हौं र हाम्रो मौलिक मगर भाषा, संस्कार र संस्कृतिले हामी जोडिएका छौं, शिर्फ छ त परिवेश फरक, भूगोल भिन्न । हामीले एउटै थलोमा बसेर इतिहासका पानाहरु पल्ट्याउने कोसिस गर्नेछौं, मगर मैलिक पहिचानको नयाँ अभियानको खाका कोर्नेछौं साथै मगर मात्र नभएर अन्य बिबिध जाति र जिज्ञासु, अनुसन्धाता व्यक्तिहरुको लागि बहुउपयोगीरुपमा मगर सांस्कृतिक केन्द्र स्थापित गरिनेछ । साथै, बिभिन्न कारण बस अप्ठ्यारोमा परेका मगरहरुलाई केही समयको लागि बासस्थानको व्यवस्था गर्न सकिने परिकल्पना गरिएको छ भने नेपाल र अन्य मुलुकहरूबाट बिभिन्न काम कार्यले न्यू योर्क सहरमा आउने मगर पाहुनाहरुलाई पाहुनाको रुपमा सेवासत्कार गर्न सकिनेछ ।
पहिचानको संरक्षण
सदियौंदेखि अस्तितवको लडाई लडिरहेको मगर समुदाय बिश्वको जुन कुनामा रहेपनि आफ्नो आदिमकालीन पहिचान संरक्षण र सम्बद्र्वनमा लागिरहेको छ किनकि जाति समुदायको पहिचान नै परिचयको महत्वपूर्ण अंश हो । मगर सांस्कृतिक केन्द्रले अमेरिकाबासी मगर समुदायको अस्तित्व, पहिचानको संरक्षण र प्रवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा ढुक्क हुन सकिन्छ ।
अन्त्यमा, भाषा, संस्कार र संस्कृति पहिचान नै मानव जातिको अस्तित्वको सूचक हो। यि मासिएपछि कुनै पनि जातिको पहिचानरूपी जरा मर्दछ, त्यो जाति कमजोर मात्र हैन पहिचान बिहिन हुन्छ र अन्ततः लोप हुन्छ । हामी सबल हुनलाई हाम्रो बहुआयामिक पहिचान जोगाउनु अपरिहार्य छ । हाम्रो पहिचानलाई युगौंयुगसम्म जोगाउने धरोहर सम्पदा नै मगर सांस्कृतिक केन्द्र हो ।
जय मगर !!
दिप सागर बुढा मगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति

